Logo

फाइल तस्बिर

१६ असार,काठमाडौं । सरकारले तोकिएको समय (असार १५ गतेभित्र) विद्यालय शिक्षा विधेयक संसदबाट पारित नगरेपछि नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाउँदै आन्दोलनमा जाने चेतावनी दिएको छ। महासंघले आज एक विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको हो।

“प्रतिबद्धताअनुरूप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस भएको छैन। यसबाट आम नेपाली शिक्षक–कर्मचारी सशंकित र आक्रोशित भएका छन्,“ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तत्काल विधेयक पेस गर्न माग
महासंघले विगतमा शिक्षकहरूसँग भएका सहमतिलाई समेटेर विधेयक अविलम्ब प्रतिनिधिसभामा पेस गरेर पारित गर्न आग्रह गरेको छ। हाल विधेयकबारे संसद्को शिक्षा समितिमा छलफल भइरहेको छ।

आन्दोलनको चेतावनी
महासंघले यस कार्यमा कुनै पनि ढिलासुस्ती वा षड्यन्त्र भएमा तत्कालै आन्दोलनमा जाने चेतावनी दिएको छ। “यो कार्यमा विलम्ब गर्ने सुविधा कसैलाई छैन। यस काममा कुनै पनि खालको विलम्ब र षड्यन्त्र भएमा महासंघ तुरुन्तै आन्दोलनमा जान बाध्य हुने कुरा उद्घोष गर्दछौँ। अब हुने आन्दोलनबाट सिर्जना हुन सक्ने परिणामप्रति सचेत रहन तथा यो परिस्थिति निर्माण हुन नदिन सक्रिय र गम्भीर रहन सम्बन्धित सबैमा अपिल गर्दछौँ,“ विज्ञप्तिमा भनिएको छ।

स्मरण रहोस्, सरकारले नेपाल शिक्षक महासंघसँग गत वैशाख १७ गते विधेयकलाई असार १५ गतेभित्र पारित गर्ने सहमति गरेको थियो।


सम्बन्धित समाचार