Logo

१६ असार,काठमाडौं । मधेशकेन्द्रित सात राजनीतिक दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले देशका विभिन्न ६ स्थानमा बृहत सभाहरू आयोजना गर्ने निर्णय गरेको छ। आज लाजिम्पाटस्थित एक होटलमा बसेको मोर्चाको बैठकले यो निर्णय गरेको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिए।

सभाको तालिका
मोर्चाले निर्धारण गरेको सभाहरूको तालिका निम्न अनुसार छः साउन १७ गतेः काठमाडौं,साउन २१ गतेः भैरहवा,साउन २३ गतेः कैलाली,भदौ १६ गतेः विराटनगर,भदौ १८ गतेः जनकपुर,भदौ २० गतेः वीरगञ्ज

कार्यविधि पारित र उपनिर्वाचनमा सहकार्य

बैठकले मोर्चाको कार्यविधि पनि पारित गरेको छ। यसका साथै, रुपन्देही ३ मा हुने उपनिर्वाचनमा मिलेर जाने विषयमा सबै दल एकमत देखिएका छन्। डा. यादवले भने, “मिलेर जानुपर्छ भन्नेमा सबै दल एक ठाउँमा छौँ। अब कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने निष्कर्षमा पुगेका छैनौँ। अहिले छलफल सुरु भएको छ, बिस्तारै निष्कर्षमा पुगिएला।“

उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र जनमत पार्टीले दाबी प्रस्तुत गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार, नाउपाको उम्मेदवारलाई सघाउने सहमति जुट्ने सम्भावना रहेको छ। नाउपाका संरक्षक रेशम चौधरीले यसअघिका बैठकमा पनि गएको निर्वाचनमा आफ्नो पार्टीले राम्रो मत ल्याएकाले दाबी पेस गरेका थिए।

गत निर्वाचनमा रुपन्देही ३ बाट समानुपातिकतर्फ नाउपाले ६ हजार १० मत प्राप्त गरेको थियो भने जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमत पार्टीले ३ हजार ७३२ मत ल्याएका थिए।

 


सम्बन्धित समाचार