Logo

१६ असार, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई सरकारले दिँदै आएको सम्पूर्ण सेवा–सुविधा फिर्ता गर्ने भएकी छन्। आगामी साउन १ गतेदेखि लागू हुने गरी उनले ती सुविधा त्याग्ने तयारी गरेकी हुन्।

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी भण्डारीले राष्ट्रपति पदबाट बाहिरिएलगत्तै शीतल निवास छोडेर आफ्नै निवासमा सरेकी थिइन्। त्यसबेलादेखि नै उनले सरकारी तलब र निवास खर्च लिएकी छैनन्।

उनका निकट स्रोतका अनुसार, अहिले सरकारले पूर्वराष्ट्रपति भण्डारीलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा मात्र उपलब्ध गराउँदै आएको छ। यद्यपि, उनले गाडी प्रयोग नगरे पनि इन्धन खर्च भने सरकारले बेहोरिरहेको छ। अब उनले यी बाँकी रहेका सेवा-सुविधाहरू पनि फिर्ता गर्ने तयारी गरेकी हुन्।

गत असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भण्डारीले पार्टीको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको जानकारी गराएकी थिइन्।


सम्बन्धित समाचार