Logo

१६ असार, काठमाडौं । गण्डकी प्रदेश सरकारले बजेट निर्माणमा अनियमितता गरेको आरोपमा अर्थ मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई कारबाही गरेको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई अर्थ मन्त्रालयबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत जगेडामा तान्ने निर्णय गरेको हो।

मुख्यमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार पाण्डेलाई बजेटमा भएको गलत गतिविधिको आरोपमा हटाइएको हो र यस विषयमा आन्तरिक छानबिन समेत गरिनेछ। ‘उहाँलाई पत्र गइसकेको छ। अर्थको जिम्मेवारीबाट तान्नु पनि एक प्रकारको कारबाही नै हो,’ ती अधिकारीले भने।

बजेट दुरुपयोगका मुख्य आरोपहरू

मन्त्रालय स्रोतका अनुसार सचिव पाण्डेमाथि विकास कार्यक्रम तयार गर्ने क्रममा नीतिगत प्रक्रिया उल्लंघन गरेको, विषयगत मन्त्रालयको सिफारिसबिना नै योजनाहरू समावेश गरेको र आफ्नो गृहपालिका तनहुँको भानु नगरपालिकामा अस्वाभाविक रूपमा बजेट केन्द्रित गरेको आरोप लागेको छ।

रातोपाटीले यसअघि नै तथ्यसहित समाचार प्रकाशित गर्दै पाण्डेको जन्मस्थान भानु नगरपालिकाको चितिखोला क्षेत्रमा मात्रै दर्जनौं योजना विनियोजन गरिएको खुलासा गरेको थियो। यस क्षेत्रमा बेलीब्रिज निर्माण, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन, वृत्तचित्र निर्माणलगायतका शीर्षकमा झन्डै ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पाइएको छ।


सम्बन्धित समाचार