Logo

१६ असार,वीरगञ्ज । बाराको नितनपुरस्थित एक उद्योगमा काम गर्ने एक युवकको शंकास्पद मृत्यु भएको छ । बाराको नितनपुर स्थिति बजरंबली आयल इण्डष्ट्रिजमा कार्यरत पोखरिया नगरपालिका वडा नं. १ निवासी गोपी बैठाको शंकास्पद मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने युवकले विषादी सेवनबाट मृत्यु भएको हुनसक्ने अनुमान रहेको बताएका छन् । उनका अनुसार शनिबार राति ११ः३० बजेतिर मेडिसिटी बयोधा अस्पतालबाट विषादी सेवन गरेको एकजना बिरामी आएको इलाका प्रहरी कार्यालय सिमरामा फोन गएको थियो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराले गण्डक स्थित मेडिसिटी बयोधा अस्पतालमा प्रहरी खटायो । अस्पतालमा प्रहरी आउदा उनलाई भवानी अस्पतालमा रिफर गरिएको थियो । त्यसपछि भवानी अस्पतालमा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

घटना हुनुअघि मृतक गोपी बैठा र त्यही उद्योगमा काम गर्ने मजदुरसँग विवाद भएर हानाहान पनि भएको थियो । दुईजनाबीच विवादपछि गोपी कोठामा गएर ढोका लगाई बसेको र रिस आवेश सहन नकसेर त्यहि भित्र मर्छु भनेका थिए । त्यसपछि आफन्तलाई जानकारी गराईएको थियो ।

आफन्त आई गोपी लिएर गएपछि विष सेवन गरेको खबर आएको प्रहरी नायव उपरीक्षक जोशीले बताए । कुटपिटबाट मृत्यु भएको भन्ने विषयमा भने पोष्टमार्टमपछि मात्रै यकिन हुने उनले बताए । मृतकका भाई कृष्णकुमार बैठाले भने भारतीय मजदुर तथा उद्योगमा कार्यरत मुन्सीहरूले कुटपिट गरी हत्या गरेको आरोप लगाएका छन् ।

प्रहरी नायव उपरीक्षक जोशीले भने कुटपिटबाट मृत्यु भएको जस्तो नदेखिएपनि सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । घटनापछि उद्योगका मुन्सी सिंह र ड्राइभर र विवाद गर्ने तेजपाल राठौरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मध्य मुन्सी सिंह र ड्राईभरलाई सामान्य सोधपुछपछि छाडिएको र अर्का एक भारतीय मजदुर तेजपाल राठौरलाई भने हिरासतमा राखिएको बुझिएको छ। तर, प्रहरी नायव उपरीक्षक जोशीले भने घटना अघि गोपी बैठासँग विवाद गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए ।


सम्बन्धित समाचार