
१६ असार,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि ‘राजनीतिक प्रतिशोध’ साधिएको आरोप लगाउँदै वीरगञ्जमा हस्ताक्षर अभियान सुरु गरेको छ। रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा देशभर भइरहेका विभिन्न कार्यक्रमहरूकै एक हिस्साका रूपमा यो अभियान सञ्चालन गरिएको हो।
रास्वपा पर्साका सभापति हरि पन्तको अध्यक्षतामा सुरु भएको यस अभियानमा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, बहुदरमाई नगर सभापति चन्दन यादव लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
कार्यक्रमका वक्ताहरूले सभापति लामिछानेमाथि लगाइएका मुद्दाहरू सत्ता पक्षको प्रतिशोधको परिणाम भएको दाबी गरे। उनीहरूले ‘लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीति स्थापनाका लागि सदन र सडक दुवैमा संघर्ष आवश्यक’ रहेकोमा जोड दिए।
नेताहरूले लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा अग्रणी भूमिका खेलेकाले नै सत्ता केन्द्रित शक्तिहरू आत्तिएको आरोप लगाए। उनीहरूले यस्तो राजनीतिक आक्रमणविरुद्ध जनस्तरबाट प्रतिकार जरुरी भएको बताएका छन्। यस हस्ताक्षर संकलन अभियानले जनमत निर्माणमा टेवा पुर्याउने र सभापति लामिछानेप्रति ऐक्यबद्धता प्रकट गर्ने विश्वास पार्टीले व्यक्त गरेको छ।