Logo

१६ असार ,सेढवा  । पर्साको जगरनाथपुर गाउँपालिकामा आज एक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। पटेर्वासुगौलीको आयोजना तथा मधेश खबर मल्टिमेडिया प्रा. लि. वीरगन्जको सहजीकरणमा यो कार्यक्रम वडा नं ३ स्थित बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाको परिसरमा सम्पन्न भएको हो।

गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले चालू आर्थिक वर्ष २०८१/८२ सम्म पालिकाभित्रका ७० प्रतिशत खेतीयोग्य जमिनमा विद्युतीय तार र पोलको व्यवस्थापन गरिने जानकारी दिए। यसबाट किसानहरूले न्यूनतम महसुल तिरी भूमिगत सिँचाइबाट आधुनिक रूपमा कृषि कार्य गर्न सक्ने उनले बताए।

अध्यक्ष यादवले पालिकाको सहयोगले किसानहरूलाई कृषि मोटर तथा उन्नत जातका बीउबिजन उपलब्ध गराउँदै आएको पनि उल्लेख गरे। आम नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी विभिन्न दीर्घकालीन रोगबाट बच्न समयमै स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका सेवा प्रवाह भइरहेको समेत उनले जानकारी गराए।

कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्रीले महिलाहरूको सशक्तीकरण तथा जीवनस्तर उकास्न विभिन्न किसिमका सीप तथा तालिमको आयोजना गरिने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले चालू आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरूका बारेमा जानकारी गराएका थिए। साथै, उनले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रशासनिक भवन निर्माण, सडक निर्माण, शैक्षिक योजना तथा विभिन्न योजनाहरूबारे पनि जानकारी दिए।

कार्यक्रममा सहभागी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले समाजमा विद्यमान बालविवाह, बालशोषण, दाइजोप्रथा लगायतका कुरीति हटाउनका लागि आम नागरिक सचेत हुन आवश्यक रहेको र प्रहरीलाई सूचना प्रवाह गर्न आग्रह गरे।

लागूऔषधको ओसारपसार नियन्त्रणका लागि तथा दुव्र्यसनीमा लागेका सन्ततिलाई समयमा निगरानी गर्न प्रहरीलाई सहयोग गर्न पनि प्रहरी उपरीक्षक मिश्रले आग्रह गरे। उनले स्वदेशमा रासायनिक मलको अभाव भएका बेला भारतीय बजारबाट सीमित परिमाणमा मल ल्याउँदा प्रहरीले दुःख दिए आफूलाई जानकारी गराउन आग्रह गर्दै त्यस्ता प्रहरीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धितालले सीमामा हुन सक्ने विभिन्न किसिमका आपराधिक गतिविधिहरूको जानकारी गराउन आग्रह गरे। यसका साथै, समुदायमा हुन सक्ने विपद् सम्बन्धी घटनाहरूको जानकारी गराउन आग्रह गर्दै विपद् व्यवस्थापनका लागि सीमा क्षेत्रका हरेक वडाहरूमा जनशक्ति परिचालन गरिएको जानकारी धितालले दिए।

कार्यक्रममा वडाध्यक्ष लक्ष्मी साह, नेपाली कुशवाहा, सुभाष कुमार यादव, लेखा अधिकृत सन्देश कुशवाहा, शिक्षा अधिकृत अशोक सिंह, स्वास्थ्य शाखा अधिकृत परमेन्द्र साह लगायतको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार