
१६ असार, काठमाडौं । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले सोमबार यो सजाय निर्धारण गरेको हो।
अदालतले मेयर बस्नेतलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना तोकेको छ। सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएकोमा ३ वर्ष कैद सजाय हुने ठहर भएको छ भने बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना हुनेछ।
गैरकानुनी रूपमा कमाएको ठहर भएको सम्पत्तिसमेत जफत हुने अदालतको फैसला छ। उनीमाथि सम्पत्ति शुद्धीकरणकै कसुरमा राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत कैद सजायसमेत (३ महिना १० दिन) थप हुनेछ।
फैसलाअनुसार, बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने भएको छ।
यसै मुद्दामा संलग्न पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि ८ वर्ष कैद सजाय तोकिएको छ। कँडेल र ती दुई कम्पनीले पनि २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासाहीले भराउनुपर्ने भएको छ। उनीहरू २ व्यक्ति र २ कम्पनीविरुद्ध ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घूस लेनदेन गरेको आरोप थियो।
मेयर बस्नेत नेपाली कांग्रेसबाट लगातार दुई कार्यकाल मेयर निर्वाचित भएका थिए। यस फैसलाले स्थानीय तहमा हुने भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण सन्देश दिएको छ।