
१७ असार, काठमाडौं । नक्कली सुनका गहना धितो राखेर ११ लाख रुपैयाँ ऋण लिने रामेछापकी दिलमाया मगर प्रहरीको फन्दामा परेकी छन्।
उनलाई थप ऋण लिन आउँदा प्रहरीले पक्राउ गरेको हो। रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ घर भई हाल भक्तपुरको राधे राधे बस्दै आएकी ४२ वर्षीया मगरले २०८२ असार १० गते काठमाडौंको बुद्धनगरस्थित एक सुनचाँदी पसलमा नक्कली सुनका गहना धितो राखेर ११ लाख रुपैयाँ ऋण लिएकी थिइन्। उनले ऋण लिँदा सुनचाँदी पसलबाटै बनाएको नक्कली बिल पेस गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
असार १५ गते दिउँसो अझै ऋण चाहिएको भन्दै थप नक्कली गहना लिएर सोही पसलमा जाँदा प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीको दाबीअनुसार, मगरले प्रहरीको पोसाक प्रयोग गरी नक्कली प्रहरी बनेर विभिन्न व्यवसायीहरूलाई डरत्रास देखाउने काम समेत गर्दै आएकी थिइन्। उनको साथबाट प्रहरीले पहेँलो धातुबाट बनेका १२ थान माइली तिलहरी, १६ थान छड्के तिलहरी र विभिन्न सुनचाँदी पसलका १७ थान बिल बरामद गरेको छ।