
१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ हुन सकेन। सर्वोच्च अदालतले मंगलबारको इजलासमा यो रिट‘हेर्न नभ्याइने’ भएको जनाएको छ।
सुनुवाइ सर्यो
ढकालको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको थियो। तर, इजलासको १८ औं नम्बरमा रहेको उक्त रिटमा सुनुवाइ गर्न समय अपुग भएको सर्वोच्चले बताएको छ।
यसअघि बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि दुवै पक्षलाई आज छलफलका लागि बोलाउने आदेश भएको थियो। दुवै पक्षको कुरा सुनेपछि ढकाललाई महामन्त्री पदमा फर्काउन अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय हुने अपेक्षा थियो।
ढकालको माग
ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न पाउनुपर्ने मागसहित अदालतमा परमादेश र उत्प्रेषणसहितको आदेश माग गरेका छन्। यो रिटको सुनुवाइ कहिले हुनेछ र सर्वोच्चको निर्णय के आउँछ भन्ने कुराले रास्वपाभित्रको आन्तरिक विवादमा थप असर पार्ने देखिन्छ।