
१७ असार, काठमाडौं । संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको हेरफेरबारे सार्वजनिक बहस चर्किएका बेला सभामुख देवराज घिमिरेले त्रुटि भएमा राष्ट्रियसभाबाट सच्याइने बताएका छन्।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले समितिबाट जे प्रस्ताव आएको थियो, त्यही प्रतिनिधि सभाबाट पारित भएको स्पष्ट पारे। उनले यसमा भएको गल्ती नियतवश हो वा प्रक्रियागत त्रुटि हो भन्ने पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको बताए।
सभामुख घिमिरेका अनुसार, विधेयक अहिले राष्ट्रियसभामा पुगेको छ र त्यहाँबाट संशोधन भएपछि पुनः प्रतिनिधि सभामा फर्किनेछ।
‘कुलिङ पिरियड’ विवाद के हो ?
संघीय निजामती सेवा विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा थपघट गरी जालझेल भएको भन्दै अहिले सार्वजनिक रूपमा चर्को बहस भइरहेको छ। विभिन्न राजनीतिक दलका नेताहरूले यसमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै आएका छन्।