
१७ असार, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानलाई जालसाझीपूर्ण ढंगले हटाइएको घटनालाई विश्वकै लाजमर्दो राजनीतिक ठगी को संज्ञा दिएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यस्तो कार्यले नेपालमा राज्य संरचना र राजनीतिक नेतृत्व कति हदसम्म साँठगाँठमा आधारित छ भन्ने तथ्य उजागर भएको बताएका छन्। उनले भनेका छन्, ‘कूलिङ अफ पिरियड भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराइएको घटना नेपाल मात्र हैन, विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीको घटना हुनुपर्छ ।’
राज्यदोहन र राष्ट्रघातको प्रमाण
भट्टराईका अनुसार, उच्च तहको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीचको साँठगाँठकै कारण यस्ता राज्यदोहन, राष्ट्रघात र जनविरोधी अपराधहरू भइरहेका छन् वा हुने सम्भावना देखिन्छ। उनले यस घटनालाई ूकति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका वा हुन सक्ने रहेछन् भन्ने जिउँदो र ताजा प्रमाणू समेत भनेका छन्।
प्रणालीगत सुधारको आवश्यकता
डा. भट्टराईले यस घटनाको भर्त्सना र निन्दा मात्र गरेर नपुग्ने भन्दै राज्य प्रणालीको नै अग्रगामी पुनर्संरचना आवश्यक रहेको बताए। उनले टालटुले सुधारले काम नदिने भन्दै समग्र राजनीति र राज्यप्रणालीको लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गर्नुपर्नेमा जोड दिए।
कुलिङ पिरियड विवादले संसदीय प्रक्रिया र राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्नहरू खडा गरेको छ। के यो घटनाले नेपालको राजनीतिक प्रणालीमा सुधार ल्याउन उत्प्रेरकको काम गर्ला ?