
१७ असार, वीरगञ्ज । सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन संरक्षण रणनीतिबारे सरोकारवाला निकायहरूबीच विशेष अन्तक्र्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग विभाग मधेस प्रदेशको आयोजनामा होटल भिस्वामा सम्पन्न छलफलमा तीन महिना भित्र उद्योगहरुमा पानी प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग विभागका महानिर्देशक सुशील साहको अध्यक्षतामा भएको छलपलमा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहभागी हुनुहुन्थ्यो ।
उहाँले सिर्सिया नदि नियन्त्रणका लागि सामुहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । प्रदूषण नियन्त्रणका लागि महानगरपालिका निरन्तर लागि रहेको र दोषी उद्योगहरुलाई जरिवाना गराएपनि परवानीपुर गाउँपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा पनि फोहोर पानी नदिमा बगाउने उद्योगहरु रहेकोले यसको लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बाराका प्रमुख जिल्ला अधिकारी बन्सन्त अधिकारी, उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम लगायत बारा र पर्साका प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो ।
छलफलको निष्कर्षमा सबै निकायको समन्वय, स्पष्ट नीति निर्माण र स्थानीय तह, उद्योग तथा संघ–संस्थाको सक्रिय भूमिकाले मात्र सिर्सिया नदीको दीर्घकालीन सरसफाइ सम्भव हुने ठहर गरिएको छ । सहभागि सबै सरोकारवालाहरुले सामूहिक प्रतिबद्धता समेत जनाएका छन् ।