Logo

१७ असार, कलैया । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाइकल चोरीमा संलग्न तीन जनाको गिरोहलाई पक्राउ गरेको छ । उनीहरको साथबाट चोरी भएका पाँच वटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय कोल्हवीमा मोटरसाइकल हराएको भन्दै परेका श्रृंखलाबद्ध उजुरीहरूपछि चलाइएको विशेष अभियानले यो सफलता दिलाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक सन्तोष तामाङले बताए ।

इलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक रञ्जन मिश्रको कमाण्डमा खटिएको टोलीले गरेको गहन अनुसन्धान र खोजतलासपछि चोरीमा संलग्न कोल्हवी नगरपालिका वडा नं। १ बस्ने २१ वर्षीय राहुल बिश्वाकर्मा, सोही ठाउँका २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले चोरहरूको साथबाट विभिन्न कम्पनीका पाँच वटा मोटरसाइकलहरू बरामद गरेको छ। बरामद भएका मोटरसाइकलहरूमा प्र.२–०३–००६ प ६५१५ नम्बरको १२५ सिसि क्षमताको होन्डा साइन, ना.४८ प ६९७० नम्बरको टिभिएस आरटीआर २०० (कालो रङको), बा.९४ प २१४६ नम्बरको बजाज कम्पनीको २२० सिसि क्षमताको निलो रङको पल्सर, ना.६५ प ८८६० नम्बरको टिभिएस कम्पनीको रातो कालो रङको स्ट्राइकर, र प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस कम्पनीको निलो रङको स्ट्राइकर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराले जनाएअनुसार, मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई चोरी सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी रहेको र यस चोरी सञ्जालका अन्य सदस्यहरूको पहिचानका लागि समेत प्रयास भइरहेको बताएको छ। यस सफलताले बारा जिल्लामा बढ्दो मोटरसाइकल चोरीका घटना नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार