
१८ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा भएको हेरफेर लाई लिएर जारी विवाद चुलिँदै गएको छ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा ‘माथिबाट परिचालित’ भएर यो चलखेल भएको हो भन्दै प्रश्न उठाएकी छन्।
‘राजीनामा समाधान होइन, षड्यन्त्रको छानबिन हुनुपर्छ’
सांसद राईले सभापति खतिवडाको राजीनामाले मात्र यो समस्या समाधान नहुने स्पष्ट पारिन्। उनले भनिन्, “सभापतिको राजीनामा नै यसको सोलुसन होइन। छानबिन गर्नुपर्छ। ऐन बनाउने विषय सानो होइन। मुलुकलाई पछि धकेल्ने यो एउटा षड्यन्त्र हो।” राईका अनुसार यो विषय प्रधानमन्त्री स्वदेश फर्किएपछि माथिल्लो तहबाटै निर्क्यौल गर्नुपर्ने र दुईजनाले राजीनामा दिएर मात्र समस्याको हल नहुने बताएकी छन्। उनको भनाइ छ, ‘सभापति र सचिव माथिबाट प्रयोग हुनुभएको हो।’
एमालेले माग्यो राजिनामा
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने माग गरेका हुन् । निजामती सेवा विधेयकमा रहेकोे ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलबारे समितिको बैठकमा अहिले छलफल चलिरहेको छ ।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले पनि निजामती सेवा ऐन नै आउन नदिने षडयन्त्र भइरहेको दाबी गरे। उनले ‘कुलिङ पिरियड’ मा खेल भएको र छेडछाड भएको भन्दै यसको छानबिन हुनुपर्नेमा जोड दिए। उनले यसको प्रभाव प्रहरी ऐनमा समेत पर्ने चेतावनी दिए।
सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले भने सभापति खतिवडा र आफूबीच एकअर्कालाई दोष देखाउने अवस्था आउनु नै शंकास्पद रहेको टिप्पणी गरे।