
१८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीले दिएको सार्वजनिक अभिव्यक्तिबारे तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको हो।
गत शनिबार झाँक्रीले पार्टी नेतृत्व पुनर्गठनको माग राख्दै सार्वजनिक रूपमा बोलेकी थिइन्। उनको भनाइअनुसार ‘पतञ्जलि जग्गा प्रकरण’ मा अध्यक्ष माधवकुमार नेपालको संलग्नता भएकाले पार्टी पुनर्गठनको प्रस्ताव अघि बढाउनु आवश्यक थियो।
यसै क्रममा उनले ‘सिनो बोकेर अगाडि बढ्न नसकिने’ जस्ता कडा शब्दहरू प्रयोग गरेकी थिइन्। झाँक्रीको यही अभिव्यक्तिप्रति लक्षित गर्दै पार्टीको अनुशासन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।