
१८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान केपी ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर नेपाली कांग्रेसभित्र ‘उकुसमुकुसु ’ को वातावरण रहेको बताएका छन्।
उनले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओली सरकार धेरै दिन नटिक्ने दाबी गरे। सापकोटाले असार १६ गतेदेखि सानेपामा जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा एमालेसँगको गठबन्धनको औचित्यमाथि उठेका प्रश्नहरूलाई औँल्याउँदै यस्तो टिप्पणी गरेका हुन्।
‘सानेपामा गरमागरम बहस भइरहेको छ। उकुसमुकुसको वातावरण छ,’ सापकोटाले भने, ‘रोष्टमबाट नै सत्ता पक्षका सांसदले जेहाद छेडिरहेका छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा सबैभन्दा ठूलो अन्तर्विरोध पैदा भइराखेको छ।’ उनले कांग्रेस नेतृत्वले यो अन्तर्विरोध, असन्तुष्टि र आक्रोशलाई थाम्न नसक्ने भन्दै वर्तमान सरकार धेरै दिन नटिक्ने भविष्यवाणी गरे।