
१८ असार,वीरगञ्ज । पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण बुझाउन सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरूलाई ताकेता गरेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण मसान्तभित्र सबैले आ–आफ्नो सम्पत्ति विवरण फारम भरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ। यो सूचना पोखरिया नगरपालिका अन्तर्गतका सम्पूर्ण जनप्रतिनिधिहरू, नगरपालिका कार्यालय अन्तर्गतका सबै सेवा, समूहका स्थायी (स्थानीय सेवाका मात्र) तथा करार कर्मचारीहरू, र अस्थायी, राहत, करार शिक्षक तथा विद्यालय कर्मचारीहरूका लागि लक्षित छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम विनय कुमार सिंहद्वारा जारी सूचनामा तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा प्रचलित कानुन बमोजिम जरिवाना हुने व्यहोरा समेत जानकारी गराइएको छ ।