
१८ असार,सेढवा । ठोरी गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने अभियान आज (बुधबार) बाट सुरु भएको छ। पालिकालाई साक्षर घोषणा गर्नुअघि वडाहरूलाई साक्षर घोषणा गर्नुपर्ने प्रावधानअनुसार आज ठोरीका वडा नम्बर १, २ र ३ लाई साक्षर वडा घोषणा गरिएको छ।
आज बिहान वडा नम्बर २ मा आयोजित साक्षर वडा घोषणा कार्यक्रममा वडाध्यक्ष अमृत कृष्ण सापकोटाले वडा नम्बर २ लाई साक्षर वडा घोषणा गरे। त्यसैगरी, वडा नम्बर १ मा आयोजित कार्यक्रममा वडाध्यक्ष धनमान थापा मगरले वडा नम्बर १ लाई साक्षर वडा घोषणा गरे भने वडा नम्बर ३ मा आयोजित कार्यक्रममा वडाध्यक्ष शम्भु खड्काले वडा नम्बर ३ लाई साक्षर वडा घोषणा गरे।
ठोरी गाउँपालिका शिक्षा शाखा प्रमुख भुपाल जोशीले जानकारी दिएअनुसार भोलि (बिहीबार) वडा नम्बर ४ र ५ को साक्षर घोषणा गरिनेछ। पाँचवटै वडालाई साक्षर घोषणा गरेलगत्तै ठोरी गाउँपालिकालाई साक्षर घोषणा गर्ने तयारीमा पालिका जुटेको जोशीले बताए।
हालसम्म मधेश प्रदेशका ६ वटा पालिका साक्षर घोषणा भइसकेका छन्। ठोरी साक्षर घोषणा भएसँगै यो सङ्ख्या सात पुग्नेछ भने पर्सा जिल्लाको पहिलो साक्षर पालिका ठोरी बन्नेछ।
साक्षर पालिका घोषणाका लागि ठोरी गाउँपालिका र आसमान नेपालको समन्वयमा प्रत्येक घरमा पुगी सर्वेक्षण गरिएको थियो। उक्त प्रतिवेदनअनुसार ठोरीमा ९८ प्रतिशत व्यक्ति साक्षर पाइएको थियो। सोहीअनुसार घोषणा गर्न लागिएको शिक्षा शाखा प्रमुख जोशीले बताए।
प्रत्येक वडाका अलग–अलग कार्यक्रममा शिक्षा शाखा प्रमुख जोशीले साक्षर हुनका लागि आवश्यक पर्ने १२ वटा सूचिबारे जानकारी गराएका थिए। कार्यक्रममा प्रतीक दैनिकका सम्पादक गोविन्द प्रताप श्रेष्ठले साक्षर पालिका हुनुका फाइदाबारे प्रष्ट पारेका थिए।
कार्यक्रममा प्रत्येक वडाका जनप्रतिनिधिहरू, आसमान नेपालका पालिका संयोजक धर्मेन्द्र चौरसिया, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, प्रधानाध्यापकहरू, विद्यार्थीहरू र बुद्धिजीवीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। वडापालिका साक्षर घोषणा कार्यक्रमको सहजीकरण सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले गरेका थिए।