
१८ असार, चितवन । स्थानीय भाषा, संस्कृति र मौलिक ज्ञानको संरक्षणलाई संस्थागत बनाउने उद्देश्यसहित चितवनको माडी नगरपालिकाले “माडी प्रज्ञा प्रतिष्ठान” गठन गरेको छ।
प्रतिष्ठानको अध्यक्षमा लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका वरिष्ठ पत्रकार नारायण प्रसाद सापकोटालाई नियुक्त गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको पूर्व सचिव समेत रहनु भएका सापकोटा चितवनबाट प्रकाशित पारदर्शी दैनिकको सम्पादक तथा सामुदायिक रेडियो नारायणी एफएमको आजिव सदस्य समेत हुनुहुन्छ ।
१५ सदस्यीय रहेको प्रज्ञा प्रतिष्ठानको सदस्यहरुमा विविध विधाका विज्ञ, स्रष्टा र संस्कृतिकर्मीलाई समेटिएको छ। समितिको उपाध्यक्षको जिम्मेवारी साहित्यसर्जक तथा शिक्षक चन्द्रमणि महतोले पाएका छन् भने सदस्यहरूमा थारु लोककलाकार हिरामति गुरौ र इन्द्रादेवी महतो, रंगकर्मी सुमन तिमिल्सिना, विचारक सत्यप्रकाश पौडेल रहेका छन् ।
त्यसैगरी सदस्यमा कवि तथा शिक्षक बिपिन पाठक, कलाकार नारायण ‘आभाष’ दुबे, लोक कलाकार प्रेमकुमार बिष्ट, गायिका अञ्जु तामाङ, गजलकार शिक्षिका इन्दिरा दाहाल, धार्मिक अध्येता पण्डित सुदर्शन सुवेदी, मूर्तिकार सूर्य के।सी। ‘मध्यरात’, तथा पार्वती बिक र दुरा संस्कृतिका ज्ञाता तथा पर्यटनकर्मी श्याम दुरालाई मनोनयन गरिएको छ ।
प्रतिष्ठानमा नगरपालिकाबाट एक जना विषयगत समिति संयोजक पदेन सदस्य रहनेछन् भने तोकिएको एक कर्मचारी सदस्य–सचिवको भूमिकामा रहने व्यवस्था छ।
स्थानीय तहबाट पहिलोपटक विधिवत् रूपमा स्वीकृत यस संरचनाले माडी नगरको बौद्धिक पहिचान निर्माणमा दीर्घकालीन भूमिका खेल्ने विश्वास गरिएको छ।
बौद्धिक संरचना, दीर्घकालीन सोच
माडी नगरपालिकाका सूचना अधिकारी प्रविण भण्डारीका अनुसार, “यो केवल औपचारिक संस्था होइन, स्थानीय मौलिकताको संरक्षण र अनुसन्धानलाई संस्थागत बनाउने ऐतिहासिक थालनी हो।” उनले थपे, “प्रतिष्ठानले भाषा, साहित्य, दर्शन, गीत–संगीत, मौखिक परम्परा, पुरातात्विक सम्पदा, ललितकला, सामाजिकशास्त्र, र स्थानीय ज्ञान–विज्ञानसम्बन्धी क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।”
नगरपालिकाले यसलाई माडीको समग्र बौद्धिक विकास तर्फको एक ठूलो पाइला मानेको छ। धार्मिक र ऐतिहासिक धरोहरले भरिपूर्ण माडी नगरको सांस्कृतिक चेतनालाई उजागर गर्न प्रतिष्ठानले सृजनात्मक लेखन, अनुसन्धान, अभिलेखीकरण र प्रवर्द्धन जस्ता कार्यलाई प्राथमिकतामा राख्नेछ।
स्थानीय तहबाट स्थापना गरिएको यो प्राज्ञिक निकायले माडीमा मौलिक सिर्जनाको आधार तयार गर्दै सांस्कृतिक पुनर्जागरणको अभियानलाई संस्थागत ढंगमा अघि बढाउने सम्भावना प्रबल देखिएको छ।