Logo

१९ असार,काठमाडौं । पत्रकार दिलभूषण पाठक साइबर अपराधको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार बिहीबार पाठक अदालतमा उपस्थित भएपछि आजै न्यायाधीश खेमराज भट्टको इजलासमा उनको बयान तथा बहसका लागि पेसी तोकिएको छ।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनका साथै अस्ट्रेलिया, क्यानडा र दुबईमा लगानी रहेको भन्दै युट्युबमा सामग्री प्रसारण गरेपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान सुरु गरेको थियो।

उक्त कार्यक्रमसँग सम्बन्धित भिडिओ, स्क्रिनसट र कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ। प्रहरीले पाठकलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। सोही कारण पाठकको बयानसमेत नगरी अदालतमा अभियोग पत्र बुझाइएको हो।

पाठकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत सजायको माग गरिएको छ। देउवा परिवारले उजुरी दिए पनि अभियोग पत्रमा भने जाहेरवालाको नाम उल्लेख गरिएको छैन।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुरमा उनलाई सजाय माग गरिएको छ। हाल फरार भनिएका पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ। उक्त दफाअनुसार दोषी ठहर भएमा पाठकलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। साथै, पाठकबाट जाहेरवालालाई क्षतिपूर्तिसमेत भराउन माग गरिएको छ।

 


सम्बन्धित समाचार