Logo

१९ असार,सर्लाही । मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका पदाधिकारीहरूको कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन्। उनले उनीहरूको क्षमता र दक्षता बढाउन कडा सुझाव दिएका हुन्।

सर्लाहीको मलंगवामा आयोजित ‘पत्रकार आचारसंहिता पालनासम्बन्धी गोष्ठी’ मा प्रमुख अतिथिको रूपमा बोल्दै मन्त्री लेखीले आफ्नो आक्रोश पोखे। उनले गत आर्थिक वर्षमा कार्यालय भवन निर्माणका लागि विनियोजित करोडौं बजेट अलपत्र परेको भन्दै पदाधिकारीहरूलाई ‘ठूला–ठूला गफ गर्ने तर काम नगर्ने’ आरोप लगाए।

मन्त्री लेखीले भने, “नेपाल पत्रकार महासंघ मधेस प्रदेशलाई कार्यालय भवन निर्माणका लागि चालू आ.व. २०८१÷०८२ मा कुल ८० लाख बजेट विनियोजन गरेकोमा महासंघका प्रदेशका पदाधिकारीहरूले काम सुरुसम्म गर्न सकेनन्, तर ठूलठूला गफ गरि हिँड्छन्।“ कामै गर्न नसकेको संगठनलाई यसपटकको बजेटमा भवनको नक्सा पास गराउनका लागि मात्रै ५ लाख रुपैयाँ विनियोजन गरिदिएको जानकारी पनि उनले दिए।

पत्रकारिताको पेशागत मर्यादा र नियुक्तिमा योग्यताको मापदण्डमा जोड
मन्त्री लेखीले पत्रकारिताको पेशागत मर्यादामाथि पनि गम्भीर प्रश्न उठाए। उनले पत्रकारको नाममा कसैमाथि आक्षेप लगाउने, झुटो आरोप लगाउने, पित्त पत्रकारिता गर्ने र अवैध रकम असुली गर्ने जस्ता कार्य कुनै पनि पत्रकारले गर्न नहुने स्पष्ट धारणा व्यक्त गरे। उनको यो भनाइले मधेस प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका केही विकृतिप्रति सरकारको असन्तुष्टि झल्किएको छ।

साथै, मन्त्री लेखीले सञ्चार क्षेत्रका बोर्ड, प्राधिकरण वा काउन्सिलमा हुने नियुक्तिमा योग्यतालाई प्राथमिक मापदण्ड बनाउनुपर्नेमा जोड दिए। उनले प्रेस संगठन वा महासंघमा आबद्धता तथा कुनै राजनीतिक पार्टी (विशेषगरी एमाले) मा आवद्ध हुँदैमा कोही पत्रकार सञ्चार क्षेत्रसँग सम्बन्धित बोर्ड, प्राधिकरण वा काउन्सिलमा नियुक्तिका लागि योग्य ठान्न नमिल्ने स्पष्ट धारणा राखे। “सञ्चारकर्मीको नियुक्तिमा योग्यताको मापदण्ड प्राथमिक हुनु पर्छ, केवल संगठन आबद्धताले हैसियत निर्धारण हुँदैन,“ उनले दोहोर्याए।

गोष्ठीमा सञ्चार क्षेत्रका विकृतिमाथि छलफल
नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा भएको उक्त गोष्ठी मिडिया काउन्सिल, मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य जंगीलाल र एमाले सर्लाहीका अध्यक्ष राजनारायण साह विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्का, चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड, मधेसका अध्यक्ष किशोर कुमार लेखी र मलङ्गवा नगरपालिकाकी उपमेयर सकुन्तला देवी साह लगायतका अतिथिहरूले पनि पत्रकार आचारसंहिता पालना सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए।

गोष्ठीमा सञ्चार क्षेत्रमा देखा परेका विकृति, विसंगति, विशुद्ध पत्रकारिता, पेशागत मर्यादा र पत्रकार आचारसंहिताको पालना सम्बन्धमा विस्तृत छलफल भयो। यसमा व्यावसायिक, स्वच्छ र मर्यादित पत्रकारिताका अभ्यास, आचारसंहिता विपरीतका प्रवृत्तिहरू र समाधानका उपायबारे विचार आदानप्रदान गरिएको थियो।

 


सम्बन्धित समाचार