
१९ असार,वीरगञ्ज । मुस्लीम धर्मावलम्वीहरुको ताजिया (दाहा) पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यावस्थालाई मजबुद बनाउने भएको छ । वीरगन्ज महानगरपालिका, स्थानीय प्रशासन, मुस्लीम समुदायका अगुवाहरुबीच महानगर प्रमुख सिंहको कार्यकक्षमा आज भएको छलफलमा सुरक्षा व्यावस्था कडा र दाह पर्वलाई व्यवस्थित गर्ने निर्णय भएको हो ।
विगतमा हनुमान जयन्तीको समयमा छपकैयामा भएको झडपजस्ता घटना दोहोरिन नदिन धार्मिक सहिष्णुता कायम राख्नका लागि स्थानीय प्रशासनले पहल गर्दै व्यवस्थित बनाउने निर्णय गरेको हो । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले ताजिया पर्वका लागि ६ बुँदे निर्णयहरू गरेको छ ।
बैठकले वीरगन्जका विभिन्न वडाबाट निकालिने ताजियालाई घण्टाघरमा मात्र जम्मा गरिनेछ। प्रत्येक वडाबाट ताजिया निकाल्ने समूहले अनिवार्य रूपमा समन्वय टोली गठन गरी असार २० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा जानकारी उपलब्ध गराउनु पर्ने निर्णय गरेको छ ।
ताजिया जुलुसमा कुनै पनि प्रकारका हातहतियार र डीजेको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ । जुलुसमा बालबालिकालाई सहभागी गराउन पाइने छैन । जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि गर्न पूर्ण निषेध गरिएको छ । मेयर राजेशमान सिंहको संयोजकत्वमा मुस्लिम समुदायका एकजना प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित एक अनुगमन समिति गठन गरिनेछ ।
कार्यक्रमको सम्पूर्ण सुरक्षा स्थानीय प्रहरी प्रशासनले गर्नेछ । स्थानीय प्रशासन र महानगरपालिकाले ताजिया पर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन विशेष जोड दिएका छन् । मेयर सिंहले सबै समुदायलाई धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रा, सशस्त्र प्रहरी १३ गण वीरगन्जका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान पर्साका प्रमुख सन्तोष ढुंगेल, र मुस्लिम समुदायका अगुवाहरूको उपस्थिति थियो ।