
१९ असार, काठमाडौं । डोल्पामा हुँदै नभएको ‘दुर्गा प्राथमिक विद्यालय’ को नाममा भवन निर्माणका लागि ७ लाख ६० हजार रुपैयाँ हिनामिना भएको पाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घटनामा संलग्न भएको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका प्रमुख इन्जिनियर, लेखापाल र फर्जी उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार, जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, र फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा तथा कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा यो घोटाला गरेका हुन्। उनीहरूले दुनै गाविस वडा नं २ र ३ मा दुर्गा प्राथमिक विद्यालय नामको कुनै पनि विद्यालय अस्तित्वमा नभए पनि २ कोठे भवन निर्माणका लागि रकम निकासा गरी हिनामिना गरेको भेटिएको छ।
अनुसन्धानका क्रममा जिल्ला शिक्षा कार्यालय, डोल्पाले उक्त नामको विद्यालय हालसम्म सञ्चालनमा नरहेको र शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट आव २०६७ /०६८ मा कुनै पनि रकम नआएको पुष्टि गरेको छ। अख्तियारको प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनले पनि काल्पनिक विद्यालयका लागि रकम विनियोजन गरी फर्जी उपभोक्ता समिति गठन गरेको स्पष्ट पारेको छ।
इन्जिनियर पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली, झुटा कागजात तयार पारी ७ लाख ६० हजार रुपैयाँ भुक्तानी दिइएको अख्तियारले जनाएको छ।