
१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको अवलोकन भ्रमण गर्नुभएको छ।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै अत्याधुनिक रंगशालाको भ्रमण गराउनुभएको थियो। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको प्रशंसक (फ्यान) रहेको उल्लेख गर्दै सुविधासम्पन्न रंगशाला देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो।
निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई क्लबको जर्सी उपहार दिनुभएको थियो। उहाँले क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीहरूलाई प्रोत्साहनसमेत गर्नुभएको थियो।
स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनका कार्यक्रमहरू सकिएपछि हाल मेड्रिडमा रहनुभएका प्रधानमन्त्री ओली त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भइरहनुभएको छ।
रंगशाला अवलोकनका क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल लगायतका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो।