Logo

१९ असार,काठमाडौं । साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ।

न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै पाठकविरुद्ध थुनछेक बहस भएको थियो। बहसपछि इजलासले २५ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध असार १६ गते मुद्दा दायर गरेको थियो। प्रहरीले पाठकलाई पक्राउ पूर्जी जारी गरी अनुसन्धान अघि बढाउन खोजेको थियो। तर, असार ५ गते उच्च अदालतले उनलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएपछि प्रहरीले उनलाई पक्राउ नगरी नै मुद्दा दायर गरेको थियो।

हिल्टन होटलसँग सम्बन्धित एक भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेको भन्दै पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो।

 


सम्बन्धित समाचार