Logo

१९ असार, काठमाडौं ।  नेपाली सेनाको जंगीअड्डाले सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ। बर्खास्त हुनेमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की रहेका छन्। यद्यपि, उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी कारबाही गरिएको जंगीअड्डाले जनाएको छ।

सैनिक आचरणविपरीत कार्य गरेको आरोपमा उनीहरूमाथि कोर्ट अफ इन्क्वायरीपछि बिहीबार यो आदेश आएको हो। एक सैनिक अधिकृतका अनुसार, उनीहरूबाट अपचलन भएको रकम भराउने आदेशसमेत भएको छ।

के हो घटना?
सैनिक स्रोतका अनुसार, कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८/७९ र ०७९/८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ’कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको थियो।

प्रारम्भिक जाँचमा कैफियत देखिएपछि केही सैनिक अधिकारीहरूलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर छानबिन अघि बढाइएको थियो। यस प्रकरणमा जोडिएका कतिपय अधिकारीले अवकाशसमेत पाइसकेका थिए। उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको थियो।

महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरीले तत्कालीन आवास तथा बीमा शाखामा कार्यरत सेनानी समीर गुरुङ, प्यूठ टिकाराम गोतामे र जमदार रवीन्द्र लुङ्गेलीको मिलेमतोमा आर्थिक अपचलन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो। उनीहरूमध्ये गुरुङ र लुङ्गेलीले स्वेच्छिक अवकाश लिइसकेका थिए। सेनाबाट अवकाश पाएको ६ महिनापछि सैनिक ऐन आकर्षित नहुने हुँदा लुङ्गेली र गुरुङमाथि अनुसन्धान गरिदिन भन्दै जंगीअड्डाले प्रहरीलाई पत्राचार गरेको थियो।

पत्रमा जंगीअड्डामा भएको प्रारम्भिक छानबिनका क्रममा बयान दिँदै गोतामे र लुङ्गेलीले सैनिक प्रहरी गणमा सेनानी गुरुङसमेतको संलग्नतामा बहालवाला प्यूठ गोतामेले ४०÷५० लाख रुपैयाँ र लुङ्गेलीले एक करोड २५ लाख रुपैयाँ बराबरको अपचलन गरेको खुलेको भनिएको थियो। पछि, आरोपीहरूको बयानका क्रममा सहायक रथी खड्का र सेनानी कार्कीको समेत संलग्नता खुलेको थियो।

 


सम्बन्धित समाचार