Logo

२० असार, काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् । सूचना तथा प्रसारण विभागका अनुसार प्रधानमन्त्री ओली अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले यही असार १४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका थिए । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोंटेनेग्रोसँग महत्वपूर्ण भेटवार्ता गरे ।

प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे । विभिन्न छलफल सत्र र साइड इभेन्टहरूमा समेत उनको उल्लेखनीय उपस्थिति रहेको थियो । ‘विकास सहायतामा नयाँ सोच’ विषयक उच्चस्तरीय छलफलमा समेत नेपाली पक्षको स्पष्ट धारणा प्रस्तुत गरिएको छ ।

भ्रमणका अन्त्यतिर प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध रियल मेड्रिड क्लबको सान्टियागो बर्नाबाउ रंगशाला अवलोकन गर्नुका साथै स्पेनस्थित नेपाली दूतावास निरीक्षण र नेपाली समुदायसँग अन्तरक्रिया गरेको थिए । केही समयअघि प्रधानमन्त्री ओली स्पेनको राजधानी मेड्रिडबाट कतारको दोहा हुँदै स्वदेश फर्कन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको यो भ्रमण नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा आर्थिक सहकार्य र कूटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण मानिएको छ ।


सम्बन्धित समाचार