
२० असार, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१ छपकैयास्थित एक घरबाट भन्सार छलेर ल्याइएका करिब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरका लत्ताकपडा तथा जुत्ता–चप्पल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म सिर्सिया, ड्राइपोर्ट र भन्सार कार्यालय वीरगञ्जको संयुक्त टोलीले छापा मारी सो सामान बरामद गरेको हो।
छापा लीलावती देवीको एकतल्ले पक्की घरका दुई कोठा, सन्तोष कुमारको फुसको घर र भोला साह कानुको दुईतल्ले पक्की घरमा पर्यो। बरामद गरिएका सबै सामान भारतबाट भन्सार छलेर नेपाल ल्याइ अवैध रूपमा भण्डारण गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार यस्तो अवैध कारोबार नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानी थप कडाइ गरिएको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।