Logo

२० असार, काठमाडौं । राजनीतिक वृत्तमा हलचल मच्चाउँदै नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आज औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले संघ र प्रदेश दुवै सरकारबाट आफूहरू बाहिरिने बताएकी हुन् । नाउपाको यो निर्णय सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो घटनाक्रमसँग जोडिएको छ। बिहीबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि पार्टीले यो कठोर कदम चालेको हो।

अध्यक्ष श्रेष्ठले गठबन्धनभित्रै रहेर पनि आफूहरूसँग कुनै छलफल नगरी सुदूरपश्चिममा आफ्ना मन्त्रीलाई बर्खास्त गरिएको भन्दै असन्तुष्टि पोखिन्। ‘अन्य सवालमा पनि गठबन्धनमा कुनै छलफल हुने गरेको छैन,’ उनले भनिन्, ‘यस्तो अवस्थामा सरकारमा रहिरहनु उपयुक्त लागेन।’ नाउपाका संरक्षक रेशम चौधरीले पनि बिहीबार नै सरकारबाट समर्थन फिर्ता लिने संकेत दिएका थिए।

सरकारमा तत्काल असर नपर्ने

यद्यपि, नाउपाले समर्थन फिर्ता लिए पनि संघ र प्रदेश सरकार तत्काल अल्पमतमा पर्ने अवस्था भने छैन। सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्ति सम्मिलित संयुक्त सरकार थियो। यस प्रदेशमा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन्।

यस हिसाबले नाउपाको समर्थनबिना पनि सरकारलाई बहुमतका लागि आवश्यक सांसद संख्या पर्याप्त देखिन्छ। यस कदमले अबको दिनमा राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्ला, त्यो भने हेर्न बाँकी नै छ।


सम्बन्धित समाचार