Logo

२० असार, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले सञ्चालन गरेको श्रम शिविरमा एक किशोरीमाथि यौन दुर्व्यवहारको गम्भीर घटना बाहिर आएको छ। पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि घटनामा संलग्न रहेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुका अनुसार, पीडित परिवारको किटानी जाहेरीपछि राईलाई बुधबार साँझ धरान–१७, पृथ्वीचोकबाट पक्राउ गरिएको हो। उनलाई आजै सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

यो घटना गत वैशाख १७ गते धरान–१६ स्थित बहुभाषिक पाठशालामा मेयर हर्क साम्पाङ राईको नेतृत्वमा भइरहेको श्रमदानका क्रममा भएको थियो। खाना पकाउने जिम्मेवारीमा रहेका राईले श्रमदानमा सहभागी एक किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ। पीडितकी आमाले त्यतिबेलै प्रतिकार गर्दै राईलाई कुटपिटसमेत गरेकी थिइन्।

पीडित पक्षका अनुसार, घटना बाहिर नआओस् भनेर कुन्दन श्रेष्ठ र समीर तामाङले दबाब दिएका थिए। श्रेष्ठले ‘श्रमदाता आरोपी मानसिक रोगी हुन्, घटना बाहिरियो भने बच्चीको भविष्य बिग्रन्छ’ भन्दै प्रहरीलाई जानकारी दिनबाट रोक्न खोजेको पीडित परिवारको आरोप छ। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ।

घटना बाहिरिएपछि मेयर साम्पाङले भने सामाजिक सञ्जालमा सुनुवाइ आफैँ गर्ने र ‘दुर्व्यवहार प्रमाणित भए कारबाही गर्ने, नत्र पीडितले माफी माग्नुपर्ने’ विवादास्पद चेतावनी दिएका थिए। यौन दुर्व्यवहारजस्तो गम्भीर विषयमा मेयर आफैँले कारबाही गर्ने भनाइप्रति धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईले आपत्ति जनाउँदै यसलाई कानुनी प्रक्रियालाई बाइपास गर्ने प्रयासका रूपमा टिप्पणी गरेका छन्।

श्रमदान शिविर र विवादको पृष्ठभूमि

यौन दुर्व्यवहारको घटना भएको यो श्रमदान धरान–१६ को बहुभाषिक पाठशालामा खोलाले कटान गरेपछि तारजाली लगाउन आयोजना गरिएको थियो।

यही श्रमदानको क्रममा मेयर साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीच विवाद पनि चुलिएको थियो। उपभोक्ता समिति गठन र खर्चमा अनियमितता देखिएको भन्दै मेयरले रकम निकासा नगरेपछि विवाद बढेको थियो। विवादका क्रममा मेयर समर्थकहरूले उपमेयरमाथि हातपात प्रयाससमेत गरेपछि नेकपा माओवादी केन्द्रले धरान उपमहानगर घेराउ गरेको थियो, जसका कारण धरान उपमहानगरको बजेट प्रक्रियासमेत अवरुद्ध भएको छ।

यसअघि, प्रहरी चौकी भवन निर्माण रोक्न मेयर साम्पाङले प्रदेश सरकारमा दबाब दिएपछि पनि विवाद चुलिएको थियो। चौकी निर्माणस्थलमा मेयर समर्थकले तालाबन्दी गरेपछि घटनाको चर्चा चुलिएको र सोही श्रमदानकै क्रममा भएको यौन दुर्व्यवहारको घटना बाहिरिएको हो।

 


सम्बन्धित समाचार