
२० असार,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा भएको भट्टी विस्फोटको घटनाको सत्यतथ्य छानबिन गरी यथार्थ सार्वजनिक नभएसम्म उद्योग सञ्चालन नगर्न माग गरेका छन्।
गत बुधबार राति जगदम्बा स्टिल उद्योगमा फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना मजदुर गम्भीर घाइते भएका थिए। उक्त विस्फोटका कारण सिमरा क्षेत्रमा जनजीवन त्रसित बनेको थियो।
बारा क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभा सदस्य समेत रहेका सोनलले उक्त घटना किन र कसरी भयो भन्नेबारे उच्चस्तरीय छानबिन समिति गठन गरी पारदर्शी किसिमले जनतामाझ सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न नेपाल सरकार तथा जिम्मेवार निकायसँग माग गरेका छन्।
विस्फोटमा परी घाइते भएका मजदुरको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सोनलले माग गरेका छन्। उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
सोनलले उक्त घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन सार्वजनिक नभएसम्म उद्योग बन्द राख्न उद्योग व्यवस्थापक र प्रशासनसँग अनुरोध गरेका छन्। अन्यथा बलजफती गरेर उद्योग सञ्चालन गर्न खोजिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी जगदम्बा स्टिल उद्योगले नै लिनुपर्ने चेतावनीसमेत सोनलले दिएका छन्।