Logo

२० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ नेकपा एमालेभित्र गम्भीर संकट चुलिँदै गएको र त्यसको भविष्यबारे सहजै आकलन गर्न नसकिने बताएका छन्।

शुक्रबार काठमाडौंमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेभित्र अन्तरविरोध र व्यक्तिवादी प्रवृत्ति हावी भएको आरोप लगाएका हुन्। अध्यक्ष नेपालले एमालेलाई ‘मूल कम्युनिस्ट पार्टी भनिए’ पनि यो निकै संकटले ग्रस्त भएको र आन्तरिक कलह बढ्दै गइरहेको उल्लेख गरे। उनले भने, ‘एमाले पार्टीभित्र अन्तरविरोध बढ्दै गइरहेको छ। त्यसको भविष्य के हुने हो भन्ने कुरा सजिलै भन्न सकिँदैन।’ उनले कुभलो चिताउने, अनुचित काम गर्ने, व्यक्तिवादको शिकार हुने र दक्षिणवादी प्रवृत्ति बोक्ने जुनसुकै प्रवृत्तिलाई परास्त गर्नुपर्नेमा जोड दिए।

वर्तमान सरकारको असफलता र विकल्पको खोजी

देशको वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अध्यक्ष नेपालले यो सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको र सही नीति अवलम्बन गर्न नसकेको दाबी गरे। उनले यस्तो सरकारलाई आफ्नो पार्टीले साथ दिन नसक्ने स्पष्ट पार्दै यसको पतन अनिवार्य भएको जिकिर गरे। ‘यस्तो सरकारलाई हामीले साथ दिने कुरै हुँदैन। यसको पतन अनिवार्य छ, उनले भने। नेपालले आफ्नो पार्टी देशभर संगठन विस्तारमा लागेको र अब केही प्रदेशमा मात्र अधिवेशन बाँकी रहेको जानकारी पनि दिए।

माधव नेपालको यो भनाइले वर्तमान सत्ता गठबन्धनभित्रको आन्तरिक समीकरण र भविष्यमा आउन सक्ने राजनीतिक उतारचढावबारे थप बहस सिर्जना गरेको छ।


सम्बन्धित समाचार