
२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा एक प्रहरी कारवाहीमा परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रहरी प्रधान कार्यालय नक्सालमा झिकाइएको हो । प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री लामिछानेको समर्थनमा खड्काले हस्ताक्षर गरेको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएपछि सोबारे यकिन गर्न उनलाई प्रधान कार्यालय बोलाइएको बताए। सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले देशभर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।
प्रहरी नियमावलीअनुसार बहालवाला सुरक्षाकर्मीले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन पाउँदैनन्। यस घटनाले प्रहरी संगठनभित्र राजनीतिक संलग्नताको विषयमा थप बहस सिर्जना गरेको छ।