
२० असार, काठमाडौं । पछिल्ला दिनहरूमा अर्थ समितिका बैठकहरूमा भारतीय नोट (भारु) सम्बन्धी विषयले गर्मागर्मी बहस सिर्जना गरेको छ ।
खासगरी, नेपाल आउने भारतीय पर्यटकहरूले भारु नोट कम ल्याउन पाएकै कारण खर्च गर्न नसकेको भन्दै सांसदहरूले गभर्नरसमक्ष प्रश्न उठाएका छन् ।
सांसदहरूको चासोः पर्यटनमा भारु नीतिको असर
बिहीबारको अर्थ समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल आउने भारतीय पर्यटकलाई भारु नोट ल्याउन कडाइ गरिएकै कारण धेरै होटलमा चहलपहल घटेको बताए । सत्ताघटक एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले पनि नेपालको नीतिका कारण भारु ल्याउन नपाएको र पर्यटन क्षेत्र प्रभावित भएकोमा चिन्ता व्यक्त गरे ।
गभर्नरको मौनता र राष्ट्र बैंकको स्पष्टीकरण
सांसदहरूको प्रश्नको जवाफ दिन अर्थसमिति सभापति सन्तोष चालिसेले गभर्नर विश्वनाथ पौडेललाई निर्देशन दिए पनि उनले जवाफ दिन चाहेनन्। उनको आग्रहमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जवाफ दिए ।
कार्यकारी निर्देशक पौडेलका अनुसार, भारतीय नागरिकहरूले भारतमा आयआर्जन गरेको रकम नेपाल ल्याउँदा एक सयभन्दा माथिका ठूला भारु नोटहरू ल्याउन पाइँदैन । उनले ५ हजार डलरभन्दा बढी वा सो बराबरको अन्य विदेशी मुद्रा ल्याउँदा भन्सार जाँचपास गराउनुपर्ने र १० लाख नेपाली रुपैयाँभन्दा बढी नगद विशेष कारण परेको बेलामा मात्रै ल्याउन पाइने स्पष्ट पारे ।
५०० भारु नोटको विवाद र राष्ट्र बैंकको बाध्यता
पौडेलको जवाफमा सांसद शाहीले चित्त बुझाएनन् र ५०० भारु नोट नेपालमा किन प्रतिबन्ध गरिएको भन्दै प्रश्न तेर्स्याए। उनले भारतमा २ हजारका नोट चल्ने तर नेपालमा ५०० का नोट नचल्ने कुरा असम्भव भएको बताए । समिति सभापति सन्तोष चालिसेले समेत शाहीको प्रश्नलाई जायज ठहर्याउँदै ५०० भारु नोट कुन कानुनले ल्याउन नपाउने हो भनी जवाफ दिन निर्देशक पौडेललाई फेरि निर्देशन दिए ।
जवाफमा पौडेलले नेपालका बैंकहरूसँग ठूलो मात्रामा सय र पाँच सयका नोटहरू रहँदै गर्दा भारतले रातारात ५०० का नोटमा प्रतिबन्ध लगाएपछि ती नोट औपचारिक रूपमा भारतलाई बिक्री गर्ने अवस्था नरहेको बताए । उनले भारतलाई धेरैपटक आग्रह गर्दा पनि पुराना नोट नसाटिएकाले ठूलो मात्रामा भारु नोट यथावत रहेको उल्लेख गरे ।
उनका अनुसार, भारतसँग भएको छलफलमा एक सयभन्दा ठूला भारु नोट नेपालमा ल्याउन पाइने तर भारतीय नागरिकले बोकेर लैजान नपाउने कुरा भएको थियो । यही नियम भारतमा लागू गरिएको र ठूला भारतीय नोट बोकेर हिँड्दा नेपाली नोट विस्थापित हुन सक्ने जोखिम भएकाले राष्ट्र बैंकले पनि कडाइ गर्न बाध्य भएको उनले स्पष्ट पारे ।
अर्थमन्त्रीको जवाफः कडाइ नेपालको मात्र कारणले होइन
भारतीय नोटका बारेमा शुक्रबारको अर्थसमितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समेत जवाफ दिएका छन्। उनले भारतीय नोटमा भइरहेको कडाइ नेपालका कारणले मात्र नभई भारतीय कारणले पनि भएको स्पष्ट पारे । उनका अनुसार, भन्सारमा घोषणा नगरी ४ लाख भारु र घोषणा गरेर ६ लाख भारुसम्म ल्याउन सकिन्छ । क्यूआर कोड र कार्डबाट समेत भुक्तानी गर्न सकिने उनले जानकारी दिए । ५०० भारुको नोटबारे नेपालको मात्र निर्णयले भारतमा फिर्ता हुने अवस्था नरहेको अर्थमन्त्रीले स्पष्ट पारे ।