Logo

२० असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफूलाई पार्टीबाट निर्देशन आएमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद छोड्न तयार रहेको बताएका छन्।

संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था समितिबाट पारित भएको भन्दा फरक प्रावधानसहित आएपछि खतिवडा विवादमा तानिएका थिए। विपक्षी दलहरूले उनको राजीनामा माग गरिरहेका बेला खतिवडाले पार्टी बैठकमा आफ्नो अडान स्पष्ट पारेका हुन्। उनले भने, ‘सभापतिको हैसियतमा मेरो पनि गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु।’ उनले कसैलाई बदनाम गर्ने किसिमले संसदीय समितिमा काम नगर्न आग्रह गर्दै समितिबाट आउने निर्णयलाई स्वीकार गर्न आफू तयार रहेको बताए।

पार्टीभित्रको कमजोर नेतृत्वमाथि चिन्ता

खतिवडाले पार्टीभित्रै सभापति, उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यहरूलाई खुइल्याउने कार्य भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले नेताहरूलाई प्रश्न गर्दै भने, ‘यो पद्धति कहाँसम्म जाने? हामी यी आरोप–प्रत्यारोपमै सीमित भयौँ भने जनताले, कार्यकर्ताले के गर्ने?’

उनले पार्टीका शीर्ष नेताहरू कमजोर हुँदै जाँदा समग्र पार्टी पंक्ति कमजोर हुने तर्क गर्दै भने, ‘चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत होस्, चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा होस्, पार्टी पंक्तिका गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ? खतिवडाको यो अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्वको प्रभावकारितामाथि नयाँ बहस सिर्जना गरेको छ।


सम्बन्धित समाचार