
२० असार,काठमाडौं । कात्तिक १७ गते हुने रुपन्देही–२ को उपनिर्वाचनलाई लिएर तराई–मधेसको सात दलीय संघीय लोकतान्त्रिक मोर्चामा मतभेद देखिएको छ। मोर्चाले साझा उम्मेदवार उठाउने सहमति जुटाए पनि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले उक्त निर्णयमा असहमति जनाउँदै एक्लै चुनाव लड्ने घोषणा गरेको छ।
असार १२ र १५ गते काठमाडौँमा बसेको मोर्चाको बैठकले नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेको थियो। तर जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले सो निर्णय अस्वीकार गर्दै पार्टीले आफ्नै उम्मेदवार उठाउने निर्णय गरिसकेको जानकारी दिए।
उनले भने, “चुनावमा गठबन्धन गर्नका लागि मोर्चा बनाइएको होइन। मोर्चा गठन गर्दा नै सबैले सहमति गरेका थियौं कि मोर्चा कुनै पार्टीको नेता बनाउन र चुनाव जिताउन बनाइने होइन। तर अहिले त्यही काम हुन खोजिएको छ, जुन जनमतलाई स्वीकार्य छैन।”
जनमत पार्टीले एक्लै चुनाव लड्ने स्पष्ट संकेत दिँदै खानले मोर्चाभित्रको मतभेदले विभाजनको सम्भावना कम रहेको बताएका छन्। “यो सानोतिनो विषयले मोर्चा विभाजन हुँदैन,” उनले भने, “मोर्चाभित्रका दलहरू आफ्नै निर्णय गर्न स्वतन्त्र छन्।”
यसैबीच, जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माले उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा जनमत पार्टीसँग संवाद भइरहेको जानकारी दिएका छन्। उनले मङ्गलवार बस्ने मोर्चाको मूल समिति बैठकले अन्तिम निर्णय गर्ने जानकारी समेत दिए।
रुपन्देही–२ को उपनिर्वाचनमा मोर्चाको एकता कायम रहने कि विघटनको दिशामा जाने भन्ने विषयमा उक्त बैठक निर्णायक हुने देखिएको छ।