
२० असार,वीरगञ्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सर्लाही जिल्ला अदालतले शुक्रबार यादवविरुद्ध आपराधिक उपद्रव कसुरमा पक्राउ पुर्जी जारी गरेको हो।
गृह मन्त्रालय स्रोतका अनुसार, यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमा ’लुटेरा’ भनी आरोप लगाएको अडिओ सार्वजनिक भएपछि यो कदम चालिएको हो।
बिहीबार, अध्यक्ष यादवले सर्लाहीमा प्रहरीले व्यापारीहरूलाई दुःख दिएको भन्दै एसपी खड्कासँग टेलिफोनमा कुराकानी गरेका थिए। सोही क्रममा उनले एसपीलाई ’लुटेरा’ भनेको आरोप छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सर्लाही घटनाबारे आवश्यक कानुनी कारबाही अगाडि बढाउन मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको जानकारी दिएका छन्। नेपाल प्रहरीको मधेश प्रदेशका डिआइजी उमाप्रसाद चतुर्वेदीले यसमा कानुनी प्रक्रिया अगाडि बढिसकेको र घटनाको गम्भीरतापूर्वक छानबिन गर्न भनिएको बताएका छन्।
यादव र एसपी खड्काबीचको अडिओ कुराकानी सार्वजनिक भएपछि यो प्रकरणले राजनीतिक र प्रशासनिक वृत्तमा चर्चा पाएको छ।