
२१ असार, वीरगञ्ज । वीरगञ्जका केही सक्रिय विद्यार्थीहरूले शिक्षा केवल किताबी ज्ञानमा सीमित नभई सामाजिक उत्तरदायित्व र मानवीय भावनासँग जोडिनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।
साउथ जोन माध्यमिक विद्यालय, वीरगञ्जका कक्षा ९ मा अध्ययनरत ४० जना विद्यार्थीहरूको टोलीले अध्ययन अवलोकन भ्रमणको क्रममा जिराभवानी गाउँपालिका–१ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको बाबा बटेश्वरनाथ जिराभवानी मन्दिरमा पाँच थान सिलिङ पंखा प्रदान गरी एक प्रेरणादायी कार्य सम्पन्न गरेका छन् ।
गर्मीको चपेटामा परिरहेका दर्शनार्थी तथा भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विद्यार्थीहरूले मन्दिर परिसरमा पंखा जडानको व्यवस्था गरेका हुन् । विद्यार्थी टोलीले आफ्नै पहलमा उक्त सहयोग संकलन गरी मन्दिर संरक्षण समितिका सदस्य अनिरुद्ध प्रसाद महतो तथा पूजारी किशुन दासलाई औपचारिक रूपमा पंखा हस्तान्तरण गरेका थिए ।
एक विशेष कार्यक्रममा विद्यालयका कक्षा शिक्षक अर्जुन चौधरीको नेतृत्वमा सम्पन्न भएको सो सहयोग कार्यक्रममा जिराभवानी वडा नं. १ का वडा अध्यक्ष रामशरण खवास, सामाजिक अभियन्ता प्रकाश थारू, पत्रकार हरिकिशोर शर्मा तथा अन्य स्थानीय भद्रभलाद्मीहरूको समेत उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूले यस्तो सहयोगले विद्यार्थीहरूमा सामाजिक चेतना, सहानुभूति र जिम्मेवारीको भावना विकास भएको बताउँदै उनीहरूको प्रयासलाई खुलेर प्रशंसा गरे । धार्मिक तथा सांस्कृतिक सम्पदाप्रति माया, संरक्षण र समर्पणको सन्देश बोकेको यो कदमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको छ ।
विद्यालय प्रशासनले यस्ता सामाजिक कार्यमा विद्यार्थीहरूको सक्रियता अत्यन्तै सराहनीय रहेको जनाउँदै आगामी दिनमा यस्ता गतिविधिहरूलाई अझ सशक्त रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस कार्यले युवाहरूमा सामाजिक जिम्मेवारी र संस्कारको बीजारोपण गर्नुका साथै धर्म, संस्कृति र सेवा भावनाको समन्वय भएको स्पष्ट सन्देश दिएको छ । यो गतिविधि अन्य विद्यालय र विद्यार्थीहरूका लागि पनि प्रेरणाको स्रोत बन्नेमा कुनै शंका नरहेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।