
२१ असार,काठमाडौं । नेपालले सिङ्गापुरलाई पराजित गर्दै एसीसी १६ वर्षमुनिको (यू–१६) इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। मलेशियाको बाङ्गीमा भएको फाइनल खेलमा नेपालले सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य ८ विकेट गुमाएर २९ ओभरमा पूरा ग¥यो। यस जितसँगै नेपाल प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। नेपाल यसअघि पनि यस प्रतियोगिताको साविक विजेता थियो।
सिङ्गापुरले प्रस्तुत गरेको ११४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात भने सन्तोषजनक थिएन। ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा जोए थापा र शुभम् खनालले छैटौं विकेटका लागि महत्वपूर्ण ३३ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाले। यद्यपि, ९२ रन बनाउँदा ८ विकेट गुमाएपछि नेपाल पुनः दबाबमा आएको थियो। तर, जोए थापा र अभय यादवले नवौं विकेटका लागि अविजित २५ रनको साझेदारी गर्दै टोलीलाई लक्ष्यसम्म पु¥याए। नेपालका लागि जोए थापाले नटआउट २४ रन बनाए। सिङ्गापुरका कपिश वेन्कटरमनले ४ विकेट लिए।
यसअघि, टस जितेर ब्याटिङ रोजेको सिङ्गापुर ४०.५ ओभरमा ११३ रनमै अलआउट भएको थियो। सिङ्गापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै सिङ्गापुरलाई सस्तैमा समेटेका थिए। सुशीलबहादुर रावल र अभय यादवले समान ३/३ विकेट लिए।
सेमिफाइनलमा नेपालले मलेशियालाई हराएको थियो भने सिङ्गापुरले हङकङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यसैबीच, तेस्रो स्थानका लागि भएको खेलमा आयोजक मलेशियाले हङकङलाई ५ विकेटले हराउँदै तेस्रो स्थान हासिल गरेको छ।