
अमेरिकी अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापना गरेको घोषणा गरेका छन्। उनले आफ्नो नयाँ पार्टीको नाम ‘अमेरिका पार्टी’ राखेका छन्। यो जानकारी उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) मार्फत दिएका हुन्।
यद्यपि, यो पार्टी औपचारिक रूपमा दर्ता भइसकेको छ वा छैन भन्नेबारे मस्कले कुनै जानकारी दिएका छैनन्। अमेरिकाको फेडरल इलेक्सन कमिसनले पनि शनिबारसम्म यस नयाँ दल दर्ताबारे कुनै जानकारी नदिएको बीबीसीले उल्लेख गरेको छ। पार्टीको स्वरूप र नेतृत्वबारे पनि अझै स्पष्टता छैन।
मस्कका अनुसार, यो नयाँ पार्टीले अमेरिकाका दुई प्रमुख राजनीतिक दलहरू ( रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिनेछ। सन् २०२४ को निर्वाचनमा मस्क तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख समर्थक थिए र उनले ट्रम्पलाई २५ करोड डलर चन्दा दिएको विषयले चर्चा पाएको थियो। ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि मस्कलाई सरकारी खर्च कटौती सम्बन्धी कार्यदक्षता विभाग (डीओजीई) को प्रमुख पदमा नियुक्त गरिएको थियो।
ट्रम्पसँगको आन्तरिक विवादका कारण मस्कले सो पद त्यागेका थिए। पद त्यागलगत्तै उनले नयाँ राजनीतिक दल खोल्ने सम्भावनाबारे कुरा गरेका थिए।
अमेरिकाको स्वतन्त्रता दिवस (जुलाई ४) मा मस्कले एक्समा एक पोल राखेका थिए, जसमा उनले दुई(दलीय प्रणालीबाट स्वतन्त्रता र नयाँ पार्टीको आवश्यकता बारे प्रश्न सोधेका थिए । उक्त पोलमा ६५ दशमलव ४ प्रतिशत सहभागीले नयाँ पार्टी बनाउनुपर्ने पक्षमा मत दिएका थिए, जबकि ३४ दशमलव ६ प्रतिशतले यसको आवश्यकता नभएको बताएका थिए ।
पोलको नतिजापछि मस्कले एक्समा ‘तपाईंहरू ६६ प्रतिशतले नयाँ राजनीतिक पार्टी चाहनुहुन्छ र अब यो तपाईंले प्राप्त गर्नुहुनेछ। जब अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ तब अमेरिकाका दुवै पार्टी (रिपब्लिकन र डेमोक्रेटिक) उस्तै हुन आउँछन् भनेर लेखेका थिए। अब देशले दुई पार्टी सिस्टमबाट स्वतन्त्रता पाउने छ।