
२२ असार, काठमाडौं । नक्कली भारतीय नोट प्रकरणमा जेल सजाय भोगेर बाहिरिएका युनुश अन्सारी लाई सम्पत्ति शुद्धीकरण मुद्दामा आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान लिने तयारी भइरहेको छ।
पृष्ठभूमि र नयाँ आरोप
अन्सारी २०७६ जेठ १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित ६ जनासँगै पक्राउ परेका थिए । उक्त प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरेपछि उनी गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए। तर, छुटेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पुनः नियन्त्रणमा लिएको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो।
अन्सारीमाथि आरोप
उनी नेशनल टेलिभिजनको अध्यक्ष हुँदा अप्रत्याशित रूपमा ११ करोड ६२ लाख रुपैयाँ बैंक खातामा जम्मा भएको र ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखाइएको छ।अभियोगपत्रमा उल्लेख भएअनुसार, खातामा देखिएको अस्वाभाविक कारोबार ले सम्पत्ति शुद्धीकरणको कसुर पुष्टि गरेको दाबी गरिएको छ। यस मुद्दामा अन्सारीविरुद्ध ९ करोड ९ लाख रुपैयाँ बिगो र अधिकतम १५ वर्षसम्म कैद सजायको माग गरिएको छ।
अन्य प्रतिवादी
यस मुद्दामा अन्सारीसँगै उनकी श्रीमती सालमा खातुन, सर्लाहीकी प्रमिला अधिकारी र बाराका शुभेश्वर प्रसाद कुश्वाह लाई पनि प्रतिवादी बनाइएको छ। अन्सारीलाई भने पक्राउ गरी अदालतमा पेस गरिएको छ भने अन्य तीन जनालाई फरार प्रतिवादी कायम गरिएको छ। यो मुद्दाले नक्कली नोट प्रकरणपछि अन्सारीको कानुनी जटिलता थपेको छ, र अब अदालतबाट यसको फैसला आउन बाँकी छ।