
२२ असार,वीरगञ्ज । महोत्तरीको बर्दिबासमा वन संरक्षण र वातावरणीय संरक्षणका विषयमा जनचेतना फैलाउने उद्देश्यले पत्रकार, नागरिक समाज तथा मिडियाकर्मीहरूबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले वन कटान, वन्यजन्तु संरक्षण, सामुदायिक वनहरूको भूमिका, र वातावरणीय सन्तुलन कायम गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। मिडियाकर्मीहरूले जनचेतना अभिवृद्धिका लागि सञ्चार माध्यमको प्रभावकारी उपयोगमा जोड दिए भने नागरिक समाजका प्रतिनिधिहरूले स्थानीय स्तरमा वन संरक्षणमा देखिएका समस्या र समाधानका उपायबारे आफ्ना अनुभवहरू साझा गरे।
अन्तरक्रियामा अवैध वन अतिक्रमण नियन्त्रण, डढेलो रोकथाम, सामुदायिक सहभागिता अभिवृद्धि, र दिगो वन व्यवस्थापन सम्बन्धी विविध पक्षमा छलफल भएको थियो।
यो कार्यक्रम स्थानीय तह, वन डिभिजन कार्यालय र सरोकारवाला संघसंस्थाको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले गर्नुभएको थियो भने मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमारी यादव प्रमुख अतिथि हुनुहुन्थ्यो।
कार्यक्रममा प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ प्रसाद जयस्वाल, अधिकृत नमोनारायण मिश्र, कानुन अधिकृत जितनारायण साह, निरज साह, दिपा पनेरु, विभिन्न जिल्लाका डिभिजनल वन अधिकृतहरू, भू तथा जलाधार कार्यालयका प्रमुखहरू धिरु कुमार झा, रमेश पण्डित, रामकान्त साह लगायत मधेश प्रदेशभित्रका विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो।