Logo

२२ असार, काठमाडौं । भारतमा कामको खोजीमा गएका सात नेपाली बालकको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ। धनुषा प्रहरीका अनुसार जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा ती बालकलाई अभिभावकलाई हस्तान्तरण गरेको हो।

आजभन्दा करिब तीन महिनाअघि भारतको चेन्नइमा काम गर्न जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशनमा भारतीय प्रहरीले ती बालकहरूलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीहरूलाई सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाइएको थियो।

कानुनी प्रक्रिया पूरा गरेर शुक्रबार नेपाल ल्याइएका बालकहरूलाई परिवारको जिम्मा लगाइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए। उद्धार गरिएका बालकहरूमध्ये तीनजना सर्लाहीका र चारजना महोत्तरीका रहेका छन्। उनीहरू कामको खोजीमा भारत पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निकिता मिश्रले बताएकी छन्।


सम्बन्धित समाचार