
२२ असार, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन अगाडि विधान संशोधन गर्ने निर्णय गरिरहेका बेला, पार्टीका नेता मिनेन्द्र रिजालले विधानलाई दुई चरणमा संशोधन गर्नुपर्ने अनौठो प्रस्ताव अघि सारेका छन्।
उनको यो प्रस्तावले पार्टीभित्रको आन्तरिक बहसलाई थप चर्क्याएको छ। नेता रिजालका अनुसार विधान संशोधनको पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन गरेर सभापति चयन गरिनुपर्छ। यो सभापतिको कार्यकाल भने तत्काल सुरु नभई आम निर्वाचनपछि मात्रै प्रारम्भ हुने उनको भनाइ छ।
दोस्रो चरण को विधान संशोधनमा भने त्यसबेलाको सभापतिले आफूले चाहेअनुसारको व्यवस्था विधानमा राख्न सक्नेछन्। ‘जस्तो पार्टी बनाउन खोजेको हो, जतिवटा निर्वाचन बनाउन खोजेको हो, जुनजुन तह राख्न खोजेको हो, त्यहीअनुसारको प्रस्ताव होला,’ रिजालले केन्द्रीय समिति बैठकमा भने, ‘आम निर्वाचन सकिएपछि कांग्रेसले बाँकी कामका लागि बाँकी महाधिवेशन गर्छ।’
गुटबन्दी र संगठनमाथि चिन्ता
रिजालले महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भएमा तलसम्म गुटबन्दी नहुने दाबी गरे। उनले तह–तहमा हुने महाधिवेशनको तिक्तताले आन्तरिक वैमनस्यता उत्पन्न भई आम निर्वाचनमा पार्टीलाई असर गर्ने तर्क गरे। ‘जुनसुकै गुट चुनाव लडोस्, पार्टी भलो बाटोमा जाँदैन भन्ने मलाई लाग्छ,’उनले भने।
पार्टीभित्र महाधिवेशन कहिले हुने भन्ने बहस चलिरहँदा, कम्तीमा सय जना सभापतिको दाबीकर्ता देखेको रिजालले बताए। उनले नेतृत्वको कार्यशैलीप्रति पनि असन्तुष्टि पोखे। ‘पार्टी कसरी बनाउने भन्दा मलाई सभापति बनाइदिनुस्, बाँकी सबै ठीक हुन्छ भनेर। त्योभन्दा बढी मैले सुनेको छैन,‘रिजालले भने, ‘जुन भाषामा, जुन शैलीमा, जुन भङ्गिमा बोल्नुभएको छ, सभापति मलाई बनाइदिनुस्, बाँकी भएका सबै समस्या समाधान हुन्छ। अहिलेसम्म कहिल्यै नभएको जस्तो पार्टी संगठन बनाउँछु भन्नुभएको छ। त्यसरी पार्टी संगठन बन्दैन।’
मिनेन्द्र रिजालको यो प्रस्तावले नेपाली कांग्रेसको आन्तरिक संरचना र आगामी महाधिवेशनको प्रक्रियामा नयाँ बहस सिर्जना गरेको छ। के उनको यो प्रस्तावले पार्टीको गुटबन्दी कम गर्न र संगठनलाई बलियो बनाउन मद्दत गर्ला त?