
२२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अशोक राई नेतृत्वको मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादव फरार भएका छन्।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेको अडियो भाइरल भएपछि यादव फरार भएका छन्। प्रहरीले यादवको खोजीका लागि विशेष टोली परिचालन गरेको छ।
पक्राउ पुर्जी जारी, भारततर्फ फरार भएको आशंका
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, अदालतबाट पक्राउ पुर्जी जारी भएपछि यादवको तीव्र रूपमा खोजी भइरहेको छ। प्रहरी स्रोतका अनुसार, यादव भारततर्फ फरार भइसकेको आशंका गरिएको छ।
डीआईजी चतुर्वेदीले, ‘हामी अहिले खानतलासी गर्ने काम गरिरहेका छौँ। विभिन्न ठाउँमा सर्च अभियान चलिरहेको छ। उनलाई चाँडै प्रहरी नियन्त्रणमा ल्याइनेछ, भनेका छन्। जिल्लाका एसपीलाई नै अपशब्द प्रयोग गरेपछि यादवलाई पक्राउ गर्न प्रहरीको विशेष टोली खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यादवविरुद्ध सार्वजनिक सेवामा रोकावट र उपद्रव कसुर अन्तर्गतका दुईवटा मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। गत बिहीबार राति सर्लाहीका प्रहरी प्रमुख खड्का र नेता यादवबीच फोनमा भएको गालीगलौजको अडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो।