
२२ असार, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई थप ५ दिनको समय दिएको छ।
शिक्षामन्त्री रघुजी पन्तले आजको समिति बैठकमा विधेयक पारित गराउन थप समय माग गरेपछि यो निर्णय भएको हो। समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्रीको आग्रह स्वीकार गर्दै ‘५ दिनभित्र सहमति गरेर आउनू। त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ, भनेका छन्। यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो। शिक्षक महासंघसँग वार्ता जारी रहेको भन्दै मन्त्री पन्तले पुनः समय माग गरेका हुन्।
विद्यालय शिक्षा विधेयकका केही विषयमा सहमति जुट्न नसक्दा यो विधेयक अन्तिम समयमा समितिबाट पारित हुन सकेको छैन। यो समयसीमाले विवादित विषयहरूमा सहमति जुटाउन सरकारलाई दबाब बढेको छ।