२३ असार, काठमाडौं । ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न संसदीय विशेष छानबिन समितिका सदस्यहरूको नाम टुंगो लागेको छ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा गडबडी भएपछि छानविन समिति गठन गरिएको हो । सभामुख देवराज घिमिरेलाई दलहरूले आफ्नो भागमा परेका सदस्यहरूको नामावली बुझाएका छन्। संसद नियमावली, २०७५ को नियम १८० बमोजिम गठन हुने यस सात सदस्यीय समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १–१ जना सदस्य रहने सहमति भएको थियो।
सभामुखको सचिवालयका अनुसार, समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली, र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्कीको नाम सिफारिस भएको छ।
शनिबार सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति जुटेको थियो। यो समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ। सभामुखले आजै प्रतिनिधिसभामा यस समितिको घोषणा गर्ने तयारी छ।














