२३ असार, काठमाडौं । नेपाल प्रहरीको खोजी सूचीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले मधेस आज नभए भोलि नेपालबाट अलग हुने विवादास्पद अभिव्यक्ति दिएका छन्।
एक भिडियो सन्देश जारी गर्दै उनले मधेस आज नभए भोलि नेपालबाट अलग हुने विवादास्पद अभिव्यक्ति दिएका हुन्। सर्लाहीका एसपीलाई गालीगलौज गरेको अडियो भाइरल भएपछि फरार भएका यादवले आफू भागेको नभई छोराको उपचारका लागि भारत गएको दाबी गरेका छन्।
बिहार सरकार र प्रहरीलाई सहयोगको अपिल
भारततर्फ फरार भएको आशंका गरिएका यादवले आज सार्वजनिक गरेको भिडियोमा बिहारका जनता, राजनीतिक दलका नेता, जनप्रतिनिधि र प्रहरी प्रशासनलाई आफूलाई सहयोग गर्न अपिल गरेका छन्। उनले भारतमा नेपालका आन्दोलनकारीहरूलाई सधैँ शरण मिल्दै आएको स्मरण गराउँदै आफूलाई अपराधी वा हत्यारा नभई आन्दोलनकारीको रूपमा प्रस्तुत गरेका छन्।
यादवले भनेका छन्, ‘सर्लाहीका एसपी र डीएसपीले गुण्डागर्दी गर्दै भारतीय सीमावर्ती इलाकामा रहेका मानिसहरूलाई गलत आरोप लगाएर हाम्रा आफन्तका घरमा छापा मारेका छन्। अतः म बिहार सरकारसँग आग्रह गर्दछु कि यो विदेशको र राजनीतिक मामला हो।’ उनले बिहारका अधिकारीहरूलाई नेपाल प्रहरीको आग्रहमा कुनै पनि कदम नचाल्न आग्रह गर्दै आफ्नो परिवारलाई समेत समस्या नदिन अनुरोध गरेका छन्।
मधेस अलग हुने दाबी र विद्रोहको संकेत
भिडियो सन्देशमा यादवले आफू रहे पनि नरहे पनि एक दिन मधेस नेपालबाट अलग हुने दाबी गरेका छन्। उनले नेपालमा भइरहेको ‘दमन र शोषण’का कारण आउने दिनमा ‘विद्रोह’ हुने सम्भावना रहेको बताएका छन्।
‘हामीले धेरै पटक सोचेका थियौँ कि यो देशबाट मधेस अलग हुनुपर्छ,? उनले भने, ‘तर स्वाभिमानका लागि हामी नेपालको, नेपाल मेरो देश हो, म त्यो देशको नागरिक हुँ भनेर गर्व गर्थ्यौँ। तर यो दमन शोषणले हामीलाई भित्रबाट अब आउने दिनमा धेरै ठूलो विद्रोह हुने सम्भावना छ।’ उनले सीके राउतले ‘स्वराज मधेस अलग होस् भनी बिगुल फुकेको कुरा सही भएको बताउँदै आउने पुस्ताले ‘नस्लवादी चिन्तनको अन्त्य गर्ने दाबी गरेका छन्।
मधेस प्रदेश प्रहरीका प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको र उनको तीव्र रूपमा खोजीकार्य भइरहेको छ।














