२४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति सदर गर्ने निर्णय गलत भएको टिप्पणी गरेका छन्।
उनले सर्वोच्चको यस निर्णयमा राजनीतिक प्रभाव परेको आरोप लगाएका हुन्। प्रचण्डले तत्कालीन परिस्थितिमा अध्यादेशमार्फत दुईजनाले जबरजस्ती र संविधानको मर्मविपरीत गरेको नियुक्तिलाई वर्षौं लगाएर सदर गर्नु मिलेको छैन भन्दै असन्तुष्टि व्यक्त गरे। ‘अदालतको निर्णयलाई मैले गलत इन्टरप्रेटेसन त गर्न चाहन्नँ, तर जे भयो बेठीक भयो भन्ने त मलाई लागेकै छ,’ उनले भने।
प्रचण्डले अदालत पनि समाजकै एक अंग भएकाले प्रभावित हुन सक्ने बताए। ‘अदालत भनेको पनि फेरि अन्ततः यही समाजको, यहीँ अहिले चलेको बहस, छलफल तिनै मान्छे त हुन्छन् त्यहाँ पनि,‘उनले भने,’ प्रभावित देखियो। राजनीतिक देखियो। त्यसकारण जे भयो त्यो सही चाहिँ भएन।’
उनले संविधान निर्माणका बेला संवैधानिक अदालतको कुरा चलेको स्मरण गर्दै अदालतको पुनर्संरचनाबारे नयाँ ढंगले जानुपर्ने बहस उठेको बताए। तर त्यसमा आफुहरु सहमत हुन नसकेको उनको भनाई थियो । प्रचण्डले संविधान संशोधन गर्दा अदालत र सदन दुवैको विषयलाई विचार गरेर परिमार्जनतिर जानुपर्ने आवश्यकता औंल्याए। अध्यक्ष प्रचण्डसँगको विस्तृत अन्तर्वार्ता आजै अनलाइनखबरमा प्रसारण हुने बताइएको छ।














